राजावादीहरूको त्यस्तो के गतिविधि गरे, जसले धार्मिक सद्भाव बिथोल्यो ?

१९ आश्विन २०८०

१९, असोज, स्वच्छखबर, काठमाडौँ  । सांसदहरुले धार्मिक सद्भाव कायम राख्न, सडक मर्मतसम्भार र स्वास्थ्य संस्था निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा प्रदेशस्तरीय अस्पताल बनाउनका लागि जग्गा उपलब्ध गराउन सङ्घीय सरकारले निर्णय गर्नुपर्ने बताए ।

उनले भने, “प्रदेश सरकारले  बजेट बनियोजन गरेर डिपिआर बनिसेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको २५ रोपनी जग्गा सङ्घीय सरकारलाई तत्काल उपलब्ध गराउन सिफारिस गर्दा पनि निर्णय भएको छैन ।”

सांसद राजेन्द्रप्रसाद लिङ्देनले बिना आधार धार्मिक सदभावमा खलल पुर्याएको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘नेताहरुले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेको बताउनु भयो। उनीहरुलाई निगरानी गर्न भन्नुभयो। राजा ज्ञानेन्द्रले पनि लोकतन्त्र गतिविधि गर्न पाउनु हुन्छ। राजावादीहरूको त्यस्तो के गतिविधि रहेछ, जसले धार्मिक सद्भाव बिथोल्यो? राजा ज्ञानेन्द्रको कुन गतिविधिले लोकतन्त्रलाई असर गरेको रहेछ? त्यसबारे हामीले जानकारी पाउनु पर्छ।’

सांसद रामशङ्कर यादवले सदनमा पटकपटक सरकारको ध्यानार्कषण गराउँदा पनि कार्यान्वयन नभएको गुनासो गरे । “सदनमा पटक–पटक बोलिसक्दा पनि सरकारले चासो व्यक्त गर्दैन ।  जेठदेखि साउनसम्ममा बलान नदी नियन्त्रण सम्बन्धमा तीन चोटी दोहोरर्याए तर सरकारले सुनेन”, उनले भने, “समयमा नसुन्दा धेरै क्षति भइसकेको छ । चालु आर्थिक वर्षमा पनि नियन्त्रण गरिएन भने अन्य बस्ती विस्थापन हुने जोखिममा छ ।”

सांसद रामकुमार राईले पहाडी लोकमार्ग दिक्तेल–भोजपुर खण्डमा दश किलोमिटरको कालोपत्र गर्नुपर्ने बताए । सांसद रेखा यादवले वैदेशिक रोजगारीका नाममा महिलाहरुले बेचबिखनमा परेको भन्दै उद्धार, पुनःस्थापन र पुनर्वासको माग गरिन् ।

सांसद रोशन कार्कीले संसदीय समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन नगर्नु समितिको अपमान भएको बताइन् । उनले भनिन्, “महिला तथा सामाजिक मामिला समितिले निःशुल्क हेल्पलाइनको व्यवस्था र आरती साहको परिवारमाथि दुव्र्यवहार गर्नेप्रति कारबाहीका लागि सिफारिस गरेको थियो । तर गृहमन्त्रालयले यसको कार्यान्वयन गरेन । के यसरी समितिको अपमान गर्न मिल्छ ?”

शून्य समयमा सांसद लेखनाथ दाहालले कार्यतालिकासहितको बजेट कार्यान्वयन प्रक्रियाको लिखित विवरण अर्थमन्त्रालयसँग माग गरे । सांसद महेन्द्रबहादुर शाहीले बाढी पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानार्कषण गराए । उनले भेरी बबई डाइभर्सन आयोजनामा स्थानीयलाई जग्गाको मुआब्जा दिन माग गरे ।

सांसद राजेन्द्र बजागाईले नेपाली युवा रुसको सेनामा भर्ती हुने विषयमा सरकारको ठोस जवाफको माग गरे । सांसद मञ्जु शर्मा अन्सारीले देशमा धार्मिक सद्भावलाई कायम राख्न आग्रह गरिन् । सांसद रणकुमारी बलमपाकी मगरले काठमाडौँका विभिन्न स्थानका सडक बालबालिकालाई सुरक्षित बास, शिक्षा र संरक्षणका लागि ध्यानाकर्षण गराइन् ।