बीआरआईमा आधारित परियोजना अघि बढाउन जरुरी छः प्रधानमन्त्री

२१ आश्विन २०८०

२१ असोज, स्वच्छखबर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा बीआरआईबाट नेपाल लाभाविन्त हुन चाहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित बीआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चीन भ्रमणका बेला बीआरआईको रणनीतिक महत्वलाई आत्मसाथ गरेर नै खुला छलफल भएको र सहमति गरेर कार्यान्वयन गर्न लागिएको बताएका हुन् ।

उनले भने, ‘नेपाल चीनको यो द्रूततर विकास, गरीवी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बीआरआई) बाट पूरा लाभान्वित हुन चाहन्छ । हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन ।’

उनले बीआरआई नेपालका लागि महत्वपूर्ण स्रोत हुन सक्ने बताए । चीन, नेपाल र भारतको बीचमा एउटा त्रिदेशीय साझेदार विकास गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले बताए ।

उनले भने,’चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग के नेपालजस्तो आर्थिक रुपमा पछि परेको पछि परेको देशको कुरा गम्भीर रुपले सुन्न तयार हुनुहुन्छ भनेर प्रश्न गरेको छु। उहाँहरु सैद्धान्तिक रुपमा सहि छ भनेर भनेको हिजो जस्तै लाग्छ।’

प्रधानमन्त्रीले अहिलेको भ्रमणबाट चीनका निजी क्षेत्रले लगानी गर्ने वातावरण तयार भएको बताए । उनले भने,’नेपाल आत्मनिर्भर हुनुपर्यो अर्थतन्त्रमा बलियो हुनुपर्यो। त्यसका लागि प्राकृतिक स्रोत साधन प्रयोग हुनुपर्यो।’