इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

२२ आश्विन २०८०

२२ असोज, स्वच्छखबर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही  दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गरी मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् ।

मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन् ।

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ ।