कोशी प्रदेशमा कांग्रेसले आफनै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने

२३ आश्विन २०८०

२३ असोज, स्वच्छखबर, काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेता मीन विश्वकर्माले गठबन्धनमा पहिले भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘सरकार गठनका लागि लचिलो भएर संवादको वातावरण बनाउने तयारी छ । सरकार बन्ने वातावरण बनेको अवस्थामा पछि हट्ने कुरा हुँदैन ।’

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भएपनि विश्वासको मत पाउन सकेनन् । बैठकले सभापति देउवालाई त्यसबारे संवादका लागि जिम्मेवारी दिएको छ । बैठकले इजरायलमा हमासले गरेको आक्रमण र नेपालीहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कोशीमा विश्वासको मत प्राप्त गर्ने अवस्था नभएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीलले राजीनामा दिएका छन् । उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न शुक्रबार साँझसम्मको समय दिएका छन् ।