हमासको आक्रमणपछि इजरायलको अवस्था संवेदनशील छ,राजनीतिकरण नगरौंः परराष्ट्रमन्त्री साउद

२३ आश्विन २०८०

२३ असोज, स्वच्छखबर, काठमाडौँ ।  सरकारले इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको भन्दै उनले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

उनले भने, ‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रूपमा इजरायल भ्रमण नगर्न अनुरोध छ । यो अवस्थालाई राजनीतिकरण नगरौँ ।’

हमासले गरेको आक्रमणमा इजरायलमा दश जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने सात सय भन्दा बढी इयरायली मारिएका छन् ।