कोशीमा देउवा र शेखरजीसँग भएको सहमति पालना भएनः प्रधानमन्त्री दाहाल

२९ आश्विन २०८०, सोमबार २१:१८

२९ असोज, स्वच्छखबर, सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ ।’

देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरङ्ग र जनतामा भरोसा देखिएको बताए ।

आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उनले भने, ‘मिटर व्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भूटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरु पनि केही फायल छिट्टै खुल्दैछन् ।’

प्रधानमन्त्री दाहालले देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानुन पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताए ।

उनले भने, ‘निजामती सेवा ऐन सदनमा लैजानेबारेमा अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौताबमोजिमको शिक्षा ऐन ल्याउन लागिएको छ ।’

प्रधानमन्त्रीले नेपाली कांग्रेस पार्टी हो कि मञ्च हो भन्ने बुझ्न नसकिएको बताए । उनले भने, ‘पहिलोचोटी एमालेभित्र ठूलठूला चिरा परेको देखिएको छ । अब कांग्रेस त पार्टी हो कि, मञ्च हो कि, मोर्चा हो बुझिसाध्य छैन ।’

 

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.