वैज्ञानिकहरुद्वारा बर्डफ्लू प्रतिरोध गर्ने क्षमताका कुखुराको विकास
२ कार्तिक स्वच्छखबर, काठमाडौं । अनुसन्धानकर्ताहरूले जीन सम्पादन प्रविधि प्रयोग गरी बर्डफ्लू रोग प्रतिरोध गर्न सक्ने आंशिक क्षमता भएका कुखुरा विकास गरेका छन् । ती कुखुरा बर्डफ्लूबाट पूर्ण रूपमा सुरक्षित नभए पनि वैज्ञानिकहरू तीन वर्षभित्र उक्त रोग लगाउने भाइरसलाई रोक्न सकिने विश्वासमा छन् । अहिलेको परिणामले कुखुराको डीएनएमा थप परिवर्तन गरेर तिनलाई बर्ड फ्लू प्रतिरोध गर्न समर्थ बनाउन सकिने देखिएको छ । तर आलोचकहरू जीन सम्पादनबाट रोगको वास्तविक कारणलाई फरक नपार्ने औँल्याउँछन् । यूनिभर्सिटी अफ एडिन्बराको रोस्लिन इन्स्टिट्यूटमा कार्यरत प्राध्यापक हेलेन साङका अनुसार कुखुराको जीन सम्पादन गर्ने टोलीले उल्लेख्य प्रगति गरेको छ । ‘हामी निकै उत्साहजनक परिणाम आउने बिन्दुमा पुगेका छौँ र हामी यसलाई अझ अगाडि बढाउन चाहन्छौँ।’
कसरी बन्छ बर्डफ्लू प्रतिरोध गर्ने क्षमता ?
कुखुरामा बर्डफ्लू भाइरसको सङ्ख्या बढ्न महत्वपूर्ण हुने ठानिएका तीनवटा जीन अनुसन्धानकर्ताहरूले पत्ता लगाए । उनीहरूले तीमध्ये एउटा जीनमा जीन सम्पादन विधि प्रयोग गरी दुइटा साना परिवर्तन गरे । ती कुखुरामा दुई वर्षसम्म कुनै दुष्प्रभाव देखिएन। तिनमा बर्डफ्लूविरुद्ध लड्ने क्षमता बढेको पाइयो। तर उच्च मात्रामा भाइरसबाट सङ्क्रमण गराउँदा आधाजति कुखुरामा बर्ड फ्लू सर्यो । प्रतिरोध क्षमता बढेको पाइनु उत्साहवर्धक उपलब्धि भए पनि पूर्ण प्रतिरोध हात पार्न सक्ने उपाय मात्र व्यवहारमा उपयोगी हुन्छ । आंशिक प्रतिरोध क्षमता विकसित गराउने उपाय प्रयोग गर्दा भाइरसले पनि आफूअनुकूल परिवर्तन हुने अवसर पाउँछ। त्यस्तो उपाय व्यापक रूपमा प्रयोग गरिएको छ र भाइरसमा मानिसलाई घातक हुने खालको उत्परिवर्तन भयो भने अर्को वैश्विक महामारीको खतरा निम्तिन सक्छ ।
रोस्लिन इन्स्टिट्यूटका अर्का प्राध्यापक माइक मक्ग्रूका अनुसार टेस्टट्यूबमा गरिएका प्रयोगहरूले तीनवटै जीनमा परिवर्तन गरिए पूर्ण प्रतिरोध क्षमतायुक्त कुखुरा बनाउन सकिने सम्भावना देखाएका छन् । ‘हामीले कोशहरूमा जीन सम्पादन गर्दा भाइरस पटक्कै बढेको थिएन। ती परिवर्तनहरूले बर्ड फ्लूको भाइरसको वृद्धि पूरै रोकिदियो,’ उनले भने । ‘तीनवटै जीनमा सम्पादन गर्दा पूर्ण प्रतिरोध क्षमता बन्छ भन्ने कुरामा म ढुक्क छु।’
कसरी गरिन्छ जीन सम्पादन ?
कुनै जीनको काममा परिवर्तन गराउन जीन सम्पादन गर्दा डीएनएमा सूक्ष्म परिवर्तन गरिन्छ। यो अनुसन्धानमा तीनवटा जीनमा परिवर्तन गरी बर्ड फ्लू गराउने भाइरसको प्रजनन रोक्न सघाउन खोजियो। त्यसो गर्दा कुखुरालाई कुनै हानि पुगेन । आफ्नो अनुसन्धानको अर्को चरणका लागि सम्पादित जीन भएका कुखुरा उत्पादन गर्नुअघि वैज्ञानिकहरू थप कस्तो आनुवंशिक परिवर्तन आवश्यक हुन्छ भन्ने कुरा निर्क्योल गर्न खोज्दै छन् । बर्ड फ्लूलाई विश्वभरि ठूलो खतरा मानिन्छ । मानिसले पालेका तथा जङ्गली पक्षीहरू यो रोगबाट नराम्ररी प्रभावित हुँदै आएका छन् । बर्ड फ्लूका कारण कुखरापालन व्यवसायलाई ठूलो हानि पुग्ने गरेको छ ।
बर्डफ्लू के हो र कसरी उत्पन्न भयो ?
बर्डफ्लू एक किसिमको भाइरसले गराउँछ। यो भाइरस सङ्क्रामक हुन्छ। झन्डै एक शताब्दीदेखि यो रोगले चराचुरुङ्गीलाई प्रभावित गर्दै आएको ठानिन्छ । बर्ड फ्लू भाइरसको अहिले देखा परेको प्रकार एचफाइभएनवन ( H5N1) हो। यो सन् १९९० को दशकमा चीनस्थित कुखुरा फारममा उत्पन्न भई फैलिएको ठानिन्छ । कहिलेकाहीँ बर्ड फ्लू भाइरसमा उत्परिवर्तन हुँदा यो रोग मानिसमा पनि सर्छ र गम्भीर बिरामी बनाउँछ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार एचफाइफएनवन भाइरसले सन् १९९७ देखि सयौँ मानिस सङ्क्रमित भइसकेका छन् ।
के अरू जनावरको जीन पनि सम्पादन गरिएको छ ?
पशुलाई रोगसँग जुध्न सक्ने बनाउन जीन सम्पादन गर्नु भनेको तिनलाई नराम्रो अवस्थामा राख्न खोज्नु हुने तर्क कम्प्याशन इन वर्ल्ड फार्मिङ (सीआईडब्ल्यूएफ) का पीटर स्टीभन्सन गर्छन् । ‘निकै सङ्क्रामक बर्ड फ्लू जङ्गली चराचुरुङ्गीका कारण भएको हैन। यो त कोचाकोच गरेर राखिने पोल्ट्री उद्योगको तनावपूर्ण अवस्थाबाट उत्पन्न भएको हो,’ उनी भन्छन् । बर्डफ्लूविरुद्ध नीति बनाउँदा कुखुरापालन क्षेत्रको पुनः संरचना गर्नुपर्ने र त्यसमा भिडभाड र कुखुराको बथानको आकार घटाउनुपर्ने उनी औँल्याउँछन् । अण्डा उत्पादकहरूले भाले चल्लाको हत्या नगरून् भनेर सीआईडब्ल्यूएफले जीन सम्पादनलाई समर्थन गरेको छ। पशुकल्याणको अभियान सञ्चालन गर्ने उक्त समूहले पशुपक्षीले खेप्नुपर्ने पीडा घटाउन प्रविधिको प्रयोग गर्नुपर्ने मान्यता राख्छ । जीन सम्पादन प्रविधि प्रयोग गरी रोगसँग प्रतिरोध गर्न सक्ने र बढी उत्पादकत्व भएका पशु विकास गर्ने प्रयास विश्वभरि भइरहेको छ ।
पल्लब घोष
बीबीसी ।
प्रतिक्रिया दिनुहोस्: