पाल्पा जिप दुर्घटना अपडेटः मृत्यु हुने ६ जना पूर्वी नवलपरासीका एकै परिवारका

५ कार्तिक २०८०

५ कार्तिक स्वच्छखबर,पाल्पा । पाल्पाको रानीमहल नजिकै भएको जिप दुर्घटनामा परि मृत्यु हुने ६ जना एकैपरिवारका भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, एक पुरुष र दुई बालक रहेका छन् ।

मृत्यु हुनेमा पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहर का ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, आफन्त ५५ वर्षीया चुना धिताल, बुहारी ३५ वर्षीया सविना धिताल र नाती ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि जिप चालक ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते छन् । उनी मृतक लोहनीका छोरा हुन् । देवचुली नगरपालिका वडा नम्बर १६ का अध्यक्ष केशवराज गौतमकाअनुसार उनीहरु केही समय अघि मात्रै विदेशबाट फर्केर शनिबार गुल्मीको रिडी र पाल्पाको रानीमहल घुम्न निस्केका थिए ।

घाइते ईश्वर लोहनीको जिल्ला अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले जानकारी दिए । पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरुलाई लिएर फर्किदै गरेको जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जीप बराङ्दी खोलाको खोँचमा झरेकोले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाइ भएको थियो । सडकबाट झण्डै एकसय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएको थियो । आइतबार साँझ ५ बजेतिर भएको दुर्घटनाका मृतक तथा घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।