हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छः केपी ओली

११ कार्तिक २०८०

११ कार्तिक स्वच्छखबर, काठमाडौँ ।  नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरु सहभागी भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भएका छन् ।

सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने,’हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’

कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।  कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।