अन्तर्राष्ट्रिय कानुन,पीडितको भावना र सर्वोच्च अदालतको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्छ :महासचिव गुटेरेस

१२ कार्तिक २०८०

१२ कार्तिक स्वच्छखबर,काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय कानुन, पीडितको भावना र सर्वोच्च अदालतको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्ने बताएका हुन् ।

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुने बताएका थिए। जवाफमा महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका हुन् ।

उनले विश्व शान्तिस्थापनार्थ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। उनले नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक रहेको बताए ।

उनले हमासको आक्रमणमा परी इजरायलमा दश नेपालीले ज्यान गुमाएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले हराइरहेका विपिन जोशी सुरक्षित फर्किने विश्वास समेत व्यक्त गरेका छन् । यसअघि महासचिव गुटेरेसले परराष्ट्रमन्त्री एनपी साउद, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका थिए।