”मेची महाकाली राष्ट्रिय उद्वार यात्रा”को १५ दिन पुरा,१ सय ३० जना सहयोगापेक्षीको उद्धार

१२ कार्तिक २०८०

१२ कार्तिक स्वच्छखबर,अमृता बजगाँइ, लुम्बिनी । मेची महाकाली राष्ट्रिय उद्वार यात्राका अभियान्ताहरुले उद्धार कार्य शुरूवात गरेको १५ दिन पुरा भएको छ ।

उद्धार यात्राको १५ दिन सम्म आईपुग्दा अभियान्ताहरुले कोसी प्रदेशबाट ४६ र मधेश प्रदेशबाट ४७ जना सडक सहयोगापेक्षीको उद्धार गरिसकेका छन् । यस्तै, बागमती प्रदेशको हटौँडा र चितवनबाट १० जनाको उद्धार गरेका अभियान्ताहरुले गण्डकी प्रदेशको नवलपुरबाट ९ जनाको उद्धार गरेका छन् । यसरी बागमती र गण्डकी प्रदेशको केही स्थानलाई मात्र समेट्दै अभियान्ताहरु कात्तिक १० गतेबाट लुम्बिनी प्रदेश प्रवेश गरेका थिए ।

अभियान्ताहरुले लुम्बिनी प्रदेशको रुपन्देही, भैरहवा र कपिलवस्तुबाट १२ जनाको उद्धार गरिसकेका छन् भने अझैपनि लुम्बिनी प्रदेशमा उद्धार कार्य जारी नै छ । लुम्बिनी प्रदेशमा कात्तिक १३ गते अभियान्ताहरुले दाङको घोराही र तुलसीपुरमा सडक यात्रा गर्र्दै नेपालगंज पुग्नेछन् । यससंगै हालसम्म उद्धार हुनेमा १ सय ३० जना पुगेका छन् । उद्धार हुनेमा ३६ जना महिला, ९१ जना पुरुष, ३ जना बालिका र १ जना बालकको उद्धार भएको छ भने यो यात्रा मंसिर ४ गते सम्म जारी रहने छ ।

यस्तै, १५ औ दिनको यात्रामा अभियान्ताहरुले कपिलवस्तुको चन्द्रौटा देखी लमही हुदैँ दाङ सम्म सडक यात्रा गर्दा जम्मा ५ जना सडक सहयोगापेक्षीको उद्धार गरेका छन्। उद्धार हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन्। जसमध्ये कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटाबाट १ जना पुरुष, कृष्ण नगर वडा नंम्बर ५ बहादुरगंजबाट १ जना पुरुष र १ जना महिला रहेका छन् भने कृष्ण नगर नगरपालिका वडा नम्बर ४ बाट १ पुरुषको उद्वार गरेका छन्। यस्तै,दाङको लमही नगरपालिका वडा नंम्बर १ बाट १ जना पुरुषको उद्वार भएको छ।

यात्राकै क्रममा अभियान्ताहरुले लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की तथा कर्मचारीहरुबिच अन्तरक्रिया गरेका थिए । अर्थमन्त्री मास्कीले मानवसेवाले गरेको कामले सरकारको कामलाई प्रश्न गरेको बताउनुभयो । सरकारले नागरिकप्रतिको दायित्व पुरा गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले सडक मानव मुक्त देश घोषणा गर्ने काममा लुम्बिनी सरकार प्रतिबद्ध रहेको र समाजवाद उन्मुख समाज निर्माणमा गर्ने मानवसेवा आश्रमको लक्ष्यलाई समर्थन गर्ने बताउनुभयो। यस्तै, कपिलवस्तुका शिवराज नगरपालिकाका प्रमुख अजय थापाले अभियान्ताहरुलाई शुभभावना प्रकट गर्नुभएको थियो ।