अर्जेन्टिनी सुपरस्टार खेलाडी मेस्सीलाई कीर्तिमानी आठौँपटक बेलन डी’ओर अवार्ड

१४ कार्तिक २०८०

१३ कार्तिक स्वच्छखबर, काठमाडौँ । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी आठौँपटक बेलन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फूटबलले प्रदान गर्ने अवार्डले सोमबार राति मेस्सीले आठौँपटक अवार्ड जितेका हुन्  ।

३६ वर्षीय मेस्सीले म्यानचेस्टर सिटीका इर्लिंङ ब्राउट हालान्ड र केभिन डी ब्रुयन तथा पेरिस सेन्ट जर्मन(पीएसजी)का किलियन एम्बाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् । क्लब फूटबलमा मध्यम प्रदर्शन गरेका मेस्सीले अर्जेन्टिनालाई गत वर्ष भएको फिफा विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विश्वकपको सबै चरणमा गोल गरेका मेस्सीले फाइनलमा दुई गोल गर्दै अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि जिताएका थिए ।

क्लब फूटबलमा उनले पीएसजीबाट १६ गोल गर्दै टोलीबाट फ्रेन्च लिगको उपाधि जितेका थिए । त्यसपछि पीएसजीसँगको दुई वर्षको सम्झौता सकिएपछि मेस्सी मेजर लिग सकर क्लब इन्टर मियामी पुगेका थिए ।

मेस्सीले यसअघि सन् २००९,२०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा उक्त अवार्ड जितेका थिए । यस्तै मेस्सीले उनका निकट प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले भन्दा ३ पटक बढि अवार्ड जितेका छन्  । रोनाल्डोले ५ पटक  बेलन डी’अरको अवार्ड जितेका छन् ।