मौलापुरकी मेयर साहलाई पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

२४ कार्तिक २०८०

२४ कार्तिक स्वच्छखबर, काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई यथावत् रूपमा काम गर्न दिन आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले मेयर साहलाई यथावत रूपमा काम कारबाही गर्न दिन अन्तरिम आदेश दिएको हो ।

एमाले छाडेर आम जनता पार्टी प्रवेश गरेको भन्दै एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएपछि मेयर साहको पद गुमेको थियो । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना निकालेको थियो ।

साह २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएकी थिइन् । मेयर पद गुमेपछि साहले सर्वोच्च अदालतमा निर्वाचन आयोग र एमालेविरुद्ध रिट दायर गरेकी थिइन् ।

आदेशमा भनिएको छ, ‘मौलापुर नगरपालिकाको निवेदीका निर्वाचित भएको नगर प्रमुख पद रिक्त भएको भनी नेकपा एमालेबाट भएको निर्णय तथा सो सम्बन्धमा निर्वाचन आयोगलाई गरेको पत्राचार, निवेदिकाको नगर प्रमुख पद स्वतः रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सूचनासमेत हाललाई कार्यान्वयन नगर्नू, नगराउनू ।’