व्यवस्थाविरुद्ध षड्यन्त्र गरिरहे सरकार थप कठोर हुने प्रधानमन्त्रीको चेतावनी

६ मंसिर २०८०

६ मंसिर स्वच्छखबर, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थाविरुद्ध षड्यन्त्र गरिरहे सरकार थप कठोर हुन बाध्य हुने चेतावनी दिएका छन् । बुधबार संखधर दिवसमा अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लाखौं जनताले संघर्ष गरी ल्याएको व्यवस्था कसैले उल्ट्याउन नसक्ने बताएका हुन् ।

उनले भने, ‘आजको परिवर्तन साना दुःखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन । संसारकै नियम हो– पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदैछ। संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ ।’

प्रधानमन्त्रीले व्यवस्था उल्ट्याउने दुस्प्रयास गर्नेले अर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिए । उनले भने, ‘यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ। हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं । कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्दछ । एकथरि मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन्। उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं। लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला। तर, व्यवस्थाका विरूद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौं ।’