अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजना पक्राउ

१० मंसिर २०८०

१० मंसिर स्वच्छखबर, सुनसरी।सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेका छन् । एकजनाको नाम भने गोप्य राखिएको छ । उनीमाथि भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

‘जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ,’ डीएसपी कार्कीले भन्नुभयो, ‘सहकारी संस्थाको रकमबारे थप अनुसन्धान भइरहेको छ ।’

बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पैसा फिर्ता माग गर्दै दबाब सिर्जना गर्दै आएका थिए ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई इटहरीका विभिन्न ठाउँहरूबाट प्रहरीले पक्राउ गरेको हो ।