रास्वपाको उपसभापतिमा वाग्ले र सह-महामन्त्रीमा श्रेष्ठ चयन

१३ मंसिर २०८०

१३ मंसिर स्वच्छखबर, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सदस्य वाग्लेलाई उपसभापति मनोनयन गरेको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई संयुक्त बैठकले पारित गरेको हो । त्यस्तै, रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छन् ।

त्यस्तै सहमहामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ । सहप्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनयन गरिएको छ ।

सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई चयन गरिएको छ । त्यस्तै अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । रास्वपाका केन्द्रीय सदस्य नरहेका सांसद स्वतः केन्द्रीय सदस्य भएका छन् ।