विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा आन्दोलन घोषणा

१९ मंसिर २०८०

१९ मंसीर स्वच्छखबर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत शीर्ष नेताहरुका नाममा काठमाडौं जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि पार्टीले आन्दोलन घोषणा गरेको छ।

सोमबार पार्टीका नेताहरुको नाममा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको भन्दै मंगलबार नेकपाले आन्दोलन घोषणा गरेको हो । उक्त कदम आफूहरुसँग सरकारले गरेको सहमति विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लंघन मात्र होइन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसका न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’

यस्तो गैरकानुनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई पार्टीले अपील गरेको छ । नेकपाले मंसिर १९ गते साँझ मशाल जुलुस, २० गते न्यायाधीशको पुत्ला दहन र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ।