एनसेलबाट कुन दलका कुन-कुन नेताले कति रकम खाए, छानबिन गर्न तयार हो ?

२० मंसिर २०८०

२० मंसीर स्वच्छखबर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर बिक्रीमा कुन कुन नेताले कति खाए भन्ने छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत लामिछानेले नियामानुसार लाग्ने कर तिर्नु नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला–दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो भन्दै प्रश्न गरेका हुन् । उनले भनेका छन्, ‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ??’

मंगलबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गर्दै छानबिन गर्ने निष्कर्ष निकालेको थियो । सरकारले यसबारे छानबिन गर्न समिति गठनको तयारीसमेत गरेको छ । त्यस्तै लेखा समितिले पनि सरकारी निकायलाई शेयर खरिद बिक्रीबारे ९ वटा प्रश्न गर्दै पत्र पठाएको छ ।