बहुगुणी गाँजा :लागू पदार्थ नभई जरादेखि पातसम्मै औषधी !

२३ मंसिर २०८०

२३ मंसीर स्वच्छखबर,काठमाडौँ ।  क्यानाविनेसी वानस्पतिक परिवारमा पर्ने झार वर्गको वनस्पति हो गाँजा। यसको वानस्पतिक नाम क्यानाविनस सटिभा हो। क्यानाविनस यसको जेनेटिक नाम र सटिभा यसको स्पेसिज नाम हो।

नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश हो । तर गाँजा लागू औषधमा पर्ने भएको हुँदा विभिन्न जिल्लामा लगाईएको गाँजाखेतीलाई सरकारले नष्ट गर्ने गरेको छ । अनुसन्धानहरूले रक्सी र सूर्ती भन्दा गाँजा कम हानिकारक र कम अम्मलकारी रहेको प्रमाणित गरेको छ। हामीकहाँ रक्सी र सूर्ती खुला छ तर गाँजा भने प्रतिबन्धित।

विशेषत नेपालको पहाडी भूभाग देखि अन्य क्षेत्रमा समेत पाईने गाँजालाई पौराणिककालमा शिवजीले सेवन गर्ने “शिव बुटी” का रुपमा आज पनि हिन्दु संस्कृति भित्र प्रख्यात छ । केही बर्ष अघिसम्म पशुपतिनाथमा शिबरात्रीको अवसरमा मेला भर्न आउने साधुसन्तहरुलाई प्रसादको रुपमा गाँजा बाडिने प्रचलन पनि थियो र हाम्रै समाजमा पनि यसको प्रयोग औषधीको रुपमा गरिदै आएको पाइन्छ । गाँजालाई ग्याष्ट्रिक, अरुची जस्ता समस्यामा मानिसले सेवन गर्दथे भने गाईवस्तु, बाख्रा आदीलाई छेरपटे लाग्दा खुवाउने गरिन्थ्यो । यसका अलावा अन्नवाली भण्डारण गरेका स्थानहरुमा यसलाई राखि दिँदा घुन पुत्ला लगायत अन्य किराहरु नलाग्ने हुँदा गाँजाका गुणहरु अवश्य पनि मानवहितमा छन् भन्ने प्रमाणित हुन्छ ।

बैज्ञानिकहरुका अनुसार गाँजाले क्यान्सर, एड्स, वाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिन्द्रा देखि मेरुदण्डको कडापन जस्ता समस्याहरुको उपचारमा महत्वपूर्ण काम गर्दछ । त्यस्तै यसले पशुको हार्मोन बढाउने काम पनि गर्छ । पछिल्लो समय गाँजाबाट कारको बडि बनाउने, साबुन, सौन्दर्य सामाग्री लगायत भवनहरुको इन्सुलेट गर्ने जस्ता कार्यमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाई शरीर मसाज गर्न पनि सकिन्छ । युवा पुस्ताले अधिक मात्रामा सेवन गर्ने बियर एवं रक्सीमा समेत गाँजाको प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ।

नेपाली गाँजाको बिषयमा तीस (३०) को दशकमा प्रचार एवं स्तरियताका बारेमा चर्चा परिचर्चा निकै भएको पाइन्छ । अमेरिका लगायत युरोपेली देशहरुबाट हिप्पीहरु गाँजाको खोजीमा नेपाल आउने र नेपालका पहाडी जिल्लाहरु रुकुम, रोल्पा, जाजरकोट, सल्यान, बागलुङ, गोरखा, मकवानपुर आदि जिल्लाका जंगलमा गई त्यहाँ उम्रेका गाँजाको संकलन प्रसोधन समेत गरेका दृष्टान्तहरु पाइन्छन । यस कार्यलाई उक्त समयमा गाँजा पर्यटन (Hashish Tourism) को रुपमा ब्याख्या गर्ने गरिएको र नेपाली गाँजा काठमाण्डौको ठमेल देखि युरोपियन बजारमा बिक्रिबितरण हुने गरेका कुरा तथ्य र विभिन्न प्रमाणहरुबाट पुष्टि हुन्छ । यस अवधिमा युरोप, एसिया लगायत अन्तर्गतका मुलुकहरुमा गाँजाको ओसारपसार र बिक्रिवितरण ब्यापक भएको पाइन्छ ।

ब्यापक रुपमा फैलिएको लागु औषध कारोबारलाई नियन्त्रण गर्न संयुक्त राष्ट्र संघले बिभिन्न सन्धीहरु प्रस्ताव गरेको पाइन्छ । सोही अनुसार नै नेपालले लागु औषध नियन्त्रण सम्बन्धी तीन वटा सन्धीहरुमा हस्ताक्षर गरि नेपालमा पनि लागु औषध नियन्त्रण ऐन २०३३ जारी गरेको थियो । पछिल्लो पटक सन् १९८७ मा लागू औषध र रसायनिक लागु औषध कारोबार, ओसारपसार सम्बन्धी सन्धीमा हस्ताक्षर गर्ने नेपाल अन्तिम राष्ट्र हो । त्यति बेला नेपालले रिजर्भेसन सहित उक्त सन्धीमा हस्ताक्षर गरेको र गाँजाको हकमा मान्य नहुने तथ्य राखिएको थियो ।

नेपालले राखेको उक्त रिजर्भेसन डेढ बर्ष भित्र अन्य राष्ट्रहरुले बिरोध गरेको भए नेपालले उक्त सन्धी अक्षरसः लागु गर्नु पर्ने थियो तर त्यो अवधिमा कसैले पनि बिरोध गरेनन् । त्यसैले नेपालमा बिद्यमान रहेको कानूनले गाँजालाई प्रतिबन्ध गरेको बिषय बेला बेलामा चर्चा र वहसको बिषय बन्ने गरेको पाइन्छ । यावत वहसहरुका बिचमा पनि दीर्घकालिन कार्ययोजना विना गाँजालाई कानून सम्मत गर्ने कार्यले भबिष्यमा भयवाह समस्या निम्त्याउने त होइन भन्ने महत्वपूर्ण प्रश्न खडा गरेको छ ।

नेपालको लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १,३०,४२५ जना लागु औषध प्रयोगकर्ता रहेको र यस अघि २०६९ को सर्वेक्षणमा ९१,५३४ जना प्रयोगकर्ता रहेको देखिदा प्रयोगकर्ताहरुमा लागु औषध प्रतिको मोह दिन प्रतिदिन गुणात्मक रुपमा बढिरहेको देखिन्छ । यस्तो स्थितिमा गाँजालाई बैद्यता दिदा समाजमा अहिले बिद्यमान रहेको दुर्ब्यसन झन बढ्न जाने तर्फ राज्य सचेत र स्पष्ट भई कार्ययोजना बनाई अघि बढ्नुपर्ने देखिन्छ ।

सरसर्ती हेर्दा गाँजालाई बैद्यता दिदा लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसाथ गरि फाइदा बेफाईदाको एकिन गरिनुपर्दछ । एकातिर कलिला युवाहरुलाई सहज र खुल्ला रुपमा पाईने गाँजा आकर्षणको केन्द्र बन्ने अवस्था वरकरार छ भने अर्को तर्फ राज्यले यसलाई वैद्यता दिएपछि मुलुकको समग्र सामाजिक, आर्थिक अवस्थामा आउने फेरवदल वा परिवर्तन ल्याउने कुरामा राज्य कति गम्भीर हुनसक्छ भन्ने कुरामा सचेत हुन जरुरी हुन्छ ।

अहिले गाँजा प्रतिबन्धित हुँदा समेत युवाहरु दुर्ब्यसनमा फसेर परिवार, गाउँ समाज आक्रान्त छ भने खुल्ला रुपमा विना रोकतोक गाँजा भेटिदा उनीहरुको स्थिति के होला रु यसले गर्दा राज्यका निकायबाट चालिने कदम परिणाममुखी पीडित परिवार मुखी भई भरपर्दो योजना तर्जुमा निर्माण गर्नु जरुरी हुन्छ ।

युक्त राष्ट्र संघको महत्वपूर्ण अङ्ग विश्व स्वास्थ्य सङ्गठनले गाँजालाई लागू पदार्थको सूचीबाट २ डिसेम्बर २०२० मा हटाएर औषधिका सूचीमा राखेपछि यसले विश्वमै तरङ्ग नै पैदा गरेको छ। गाँजाको उपयोगबाट देशमा समृद्धिको नयाँ आयाम थपिने निश्चित छ।