रुस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न सरकारलाई आयोगको आग्रह

१ पुष २०८०

१ पुष, स्वच्छखबर, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले रूस सेनामा भर्ना भएका र युक्रेनी सेनाको कब्जामा रहेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गरी आयोगले केही नेपाली युवा रूसी सेनामा भर्ना भएका र केही युवा युक्रेनी सेनाको कब्जामा परेका भन्दै युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकहरू जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन जान्छ । साथै युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउन आयोग सरकारलाई आग्रह गर्दछ ।’

त्यस्तै आयोगले मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानूनी बाटोबाट वैदेशिक रोजगारमा जाने स्थितिको अन्त्य गरी नागरिकको जिउ धनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको छ ।