राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास वरपर थप दुई महिना जुलुस, घेराउ, प्रदर्शन गर्न नपाइने

४ पुष २०८०

४ पुष, स्वच्छखबर, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई थप दुई महिना निषेधित क्षेत्र कायम राखेको छ । यसअघि प्रशासनले एक महिना ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

तर एक महिनाको अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो । राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रुसी दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।