सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

५ पुष २०८०

५ पुष, स्वच्छखबर, काठमाडौँ । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० लाई स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक समितिबाट पेस भएको सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका पारित गरेको हो । निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने बताइएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ०.५  प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका समुदायलाई अल्पसंख्यकमा राख्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, सामाजिक समितिबाट पेस भएको अपांगता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति–२०७९ र राष्ट्रिय बालबालिका नीति–२०७९ पनि बैठकले स्वीकृत गरेको शर्माले जानकारी दिइन् ।