जोशीको सकुशल मुक्तिका लागि सरकारको कूटनीतिक प्रयास जारी छः परराष्ट्रमन्त्री
७ पुष, स्वच्छखबर, काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका छन् ।
न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए ।
‘प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ’, परराष्ट्रमन्त्रीले भने ।
उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए । उनले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पुर्याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पारे ।
फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपिन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए ।
नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वस्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको ‘एजेण्डा’ नेपाली सञ्चार माध्यमले उठाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: