स्वास्थ्यकर्मीमाथि जातीय भेदभाव गरेको आरोपमा दुईजना पक्राउ

८ पुष २०८०

८ पुष, स्वच्छखबर, कर्णाली । मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो ।

शाही खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन् । उनको घरमा डेरा गरेर बसेकी तुलसालाई जात थाहा भएपछि जातीय भेदभाव गरेको र डेरा सरेर जान दबाब दिएको उनीमाथि आरोप छ ।

त्यस्तै, भट्ट स्थानीय व्यापारी हुन् । उनले सामान किन्न जाँदा तुलसाको जात सोधेको र विश्वकर्मा भन्ने थाहा पाएपछि सामान भुँइमै राखेर दिएर पैसासमेत भुँइमा राख्न लगाएर लिएको आरोप छ ।

शाही र भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए । दाङ घर भएकी अनमी तुलसाकुमारी गतवर्ष माघमा नियुक्ति लिएर खनैयाँ पुगेकी थिइन् ।

वैशाखमा घरधनीले जात थाहा पाएपछि त्यसयता डेरा सर्न दबाब दिएको र त्यसक्रममा गाउँले र गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विरेन्द्र मल्लबाट यौन दुव्र्यवहार समेत भएको उनको आरोप छ ।

तर उनले त्यसको विरुद्धमा कानूनी लडाइँ लड्ने साहस समेत गरेकी थिइनन् । पुस दुई गते अभियन्ता खगेन्द्र सुनारले उनको बारेमा सामाजिक सन्जालमा स्टाटस लेखेपछि सो घटना बाहिर आएको थियो ।