घले समूहले दुबईबाट विमानस्थल हुँदै १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

८ पुष २०८०

८ पुष, स्वच्छखबर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी समितिका संयोजक टोकराज पाण्डेले अहिलेसम्म मीनबहादुर घलेसहित उनको समूहका व्यक्तिले १३८ किलो सुन तस्करी गरेको देखिएको जानकारी दिए । १४ किलो सुनसहित पक्राउ परेका गोरखाका घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखिएको समितिको निष्कर्ष छ ।

घलेको समूहले दुबईबाट ल्याएको १३८ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पास गरेको खुलेको पाण्डेले बताए । दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिले सुन पठाउने र घलेको समूहले विमानस्थलबाट बाहिर ल्याउने काम गरेको खुलेको पाण्डेले बताए ।

सोही क्रममा उनी १४ किलो सुनसहित घले पक्राउ परेको पाण्डेले बताए । विमानस्थलबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले सहयोग गरेको समितिले निष्कर्ष निकालेको छ । विमानस्थलबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारको सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्याउने गरेको पाइएको छ ।