अब सुशासन र विकासको क्षेत्रमा रेकर्ड राख्ने गरी काम गर्ने प्रधानमन्त्रीको घोषणा

१० पुष २०८०

१० पुष, स्वच्छखबर, काडमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अबको वर्षमा सेवा, विकास र सुशासनको क्षेत्रमा नयाँ रेकर्डहरू बनाउने घोषणा गरेका छन् ।

मंगलबार विहान पार्टी कार्यालय पेरिसडाँडामा १३१ औँ माओ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले यही वर्ष पनि केही रेकर्डहरू कायम गरेको र त्यसबारे आफूले साँझ गर्ने सम्बोधनमा जानकारी गराउने बताए ।

उनले भने,‘सरकारले एक वर्ष पूरा गरेको छ । यो बीचमा केही न केही रेकर्डहरू त बनेकै छन् । त्यसलाई नजिकबाट नियाल्ने मानिसहरूले देख्नुभएकै छ । अब नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रण गरेको छु । अबको वर्ष सरकारले प्रदान गर्ने सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा केही न केही रेकर्डहरू बनाउँछ, बनाउनैपर्नेछ ।’

उनले मंगलबार साँझ गर्ने सम्बोधनमा आफूले सरकारको एक वर्षको समीक्षा गर्ने र अर्को वर्षको कार्य प्राथमिकताका विषयमा प्रष्ट पार्ने बताए ।

उनले चुनौतीका बीचमा समाजवादको भ्रुण रोप्ने कोसिस भइरहेको बताए । नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने भन्दै प्रधानमन्त्रीले आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र विकास निर्माणको अभियानबारे निर्णय गर्ने बताए ।