नेपाल सुपर लिगको उपाधि ललितपुरलाई

१४ पुष २०८०

१४ पुष, स्वच्छखबर, काठमाडौं । नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक विजेता धनगढी एफसीलार्ई ३–१ पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको खेलमा ललितपुरलाई जित दिलाउन इमो इजेकेलले दुई गोल गर्दा दिनेश हेम्जनले एक गोल थपे । धनगढीका लागि ओलावाले अफिजले एक गोल गरे ।

खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा धनगढी लगातार दोस्रोपटक उपविजेतामा चित्त बुझाउन बाध्य भयो । खेलको ३९ औं मिनेटमा पोस्ट नजिकैबाट ट्याप इन गोल गर्दै ओलावाले अफिजले धनगढीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा इमो इजेकेलले फ्रि–किकमा गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याएका हुन् । ५० औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

आठ मिनेटपछि इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ गोलको अग्रता दिलाएका हुन् । दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल हुन नसक्दा ललितपुर ३–१ गोलले विजयी भएको हो ।

जितसँगै ललितपुरले पहिलोपटक लिगको उपाधि जितेको हो । यता धनगढी भने लगातार दोस्रोपटक उपविजेतामा चित्त बुझाएको छ । गत संस्करणको फाइनल खेलमा पनि धनगढी फाइनलमा काठमाडौं रेजर्ससँग पराजित भएको थियो ।