डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै नलिएको उद्योगीको जिकिर
१५ पुष, स्वच्छखबर, काठमाडौँ । उद्योगीहरुले आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको र प्राधिकरणसँग प्रमाण भए ल्याउन आग्रह गरेका छन् । आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले डेडिकेटेड र ट्रंकलाइनको सुविधा नलिएको दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफूहरूले विद्युत् प्राधिकरणले दिएको डेडिकेटेड र ट्रंकलाइनको सुविधा नै प्रयोग नगरेको दाबी गरे । उनले प्राधिकरणले प्रमाण दिए सबै उद्योगहरू पैसा तिर्न तयार रहेको बताए । उनले चार वर्ष अघिको बिल अहिले आएर पेस गरेर पैसा उठाउने काम बन्द गर्न आग्रह गरे ।
उनले प्राधिकरण आफैँले लोडसेडिङको समय विद्युत् आपूर्ति गर्न सक्दैनौँ भनेर सार्वजनिक सूचना जारी गरेको समयमा उद्योगहरूले विद्युत् प्रयोग गरेको प्रमाण खोज्न जायज नभएको जिकिर गरे ।
उनले भने,’टीओडी डाटा हामीलाई दिनुहोस् हामी तिर्न तयार छौँ, अबको बाटो भनेको प्रमाण नै हो । प्रमाण देखाए हामी महसुल तिर्छौँ । प्रमाण देखाउनुस् हामी पैसा तिर्न तयार छौं । तिर्नुपर्ने बिल नतिरेर हामीले कानुनको पालना नगरेको भए त्यसको भागीदार हामी हुन्छौं । हामीले प्रयोग नै नगरेको बिजुलीको बिल पठाएर हामीलाई दिएको तनाव र बिजुली काटेका कारण उद्योगमा भएको क्षतिको भागीदार को हुन्छ ?’
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौताको प्रमाण दिए पैसा तिर्छौं भनेर उद्योगीहरुको भनिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्: