नगर अस्पताल संचालनको विषयलाई लिएर सर्लाहीमा झडप, गोली लागेर एकजनाको मृत्यु

२० पुष २०८०

२० पुष, स्वच्छखबर, सर्लाही । सर्लाहीमा नगर अस्पताल संचालनको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा शुक्रबार झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

नगर अस्पताल मधेस प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो । उनको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो।

स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो । त्यसक्रममा आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गरेको थिए भने प्रहरीको गाडीमा आगजनीसमेत गरेका थिए ।