बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपको आज सजाय निर्धारण हुने

२५ पुष २०८०

२५ पुष, स्वच्छखबर, काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले आज सजाय निर्धारण गर्दैछ । जिल्ला न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहर गरे पनि सजाय भने निर्धारण भएको थिएन ।

सजाय निर्धारणका लागि आजका लागि पेसी तोकिएको छ । सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ । प्रहरी अनुसन्धानपछि सरकारी वकिलले सन्दीपविरुद्ध नाबालिग बलात्कार अभियोगमा मुद्दा दायर गरेको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेको भन्दै सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको थियो। तर जिल्ला अदालतले पीडित ‘गौशाला २६’ बालिग रहेको ठहर गरेको छ ।

सन्दीपले अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम कसुर गरेको जिल्ला अदालतको ठहर छ। अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।