सेतोपहरामा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

२८ पुष २०८०, शनिबार १७:२२

२८ पुष, स्वच्छखबर, काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । दिउँसो १ः५५ बजेको समयमा भएको दुर्घटनाबाट चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम छन् ।

दुर्घटनामा स्मारिकाकी आमा डा सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

©२०२२ स्वच्छ साप्ताहिकमा सर्वाधिकार सुरक्षित

Maintained By: I.T. Lization Pvt. Ltd.