मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल महामूर्ख घोषित

१३ चैत्र २०८०

१३ चैत्र, स्वच्छखबर, धनुषा । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन् ।

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको उपाधि सभामुख मण्डललाई प्रदान गरिएको हो । सोमबार जनकपुरधामस्थित राममन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई मिथिला नाट्य कला परिषद्ले महामूर्ख घोषणा गरेको छ ।

शिक्षक पेशा परित्याग गरी माओवादी जनयुद्व लड्दै शान्तिपूर्ण राजनीतिको मूलधारमा आएपछि एमाले हुँदै सभामुख बनेका मण्डलले मैथिली भाषा र साहित्य उत्थानमा महत्वपूर्ण योगदान पुर्याइ रहेको भन्दै महामूर्खको सम्मान प्रदान गरिएको मिनापले जनाएको छ ।

आकर्षण ब्यङ्यात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मानपत्र र मायाको चिनोसहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको हो । त्यसैगरी सोही समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याए वापत प्रदान गरिने अन्य १३ मान पदवीमा यस वर्ष पटमूर्खको उपाधि मधेस सरकार अर्थ मन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मूर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेमविदेह ललनलाई प्रदान गरिएको छ ।

सदाबहार मूर्खको उपाधि प्रअ महाविर दास, वैशाखानन्दनको उपाधि अभियानी दिनेश पूर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थायी मूर्ख, ग्रामीण परवाहास्थित युवा नाट्य परिषद्लाई निर्विकल्प मूर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।