मध्यपुरथिमिमा सिन्दुर खेलेर मनाइयो सुथसिया जात्रा

२ बैशाख २०८१

२ बैशाख , स्वच्छखबर,भक्तपुर । भक्तपुरको मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आइतबार बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बाल्ने चलन छ । खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् ।

यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी बिष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ ।

थिमिमा ३२ देवीदेवतका खट सहभागी रथ बोकेर टोलटोलमा परिक्रमा गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एउटा, बोडेमा सात, टिगनीमा एउटा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।