डलर देखाएर १८ लाख ठगेको आरोपमा ३ जना पक्राउ

१४ जेष्ठ २०८१

१४ जेठ, स्वच्छ खबर ,काठमाडौं।  डलर देखाएर नेपाली रुपैयाँ १८ लाख ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ३ बस्‍ने २४ वर्षीय श्याम तामाङ,  सोही नगरपालिका बस्‍ने २६ वर्षीय तेन्जेन पाइन र अर्का २७ वर्षीय नारायण बहादुर पाइन रहेका छन् । उनीहरूलाई सिन्धुलीको खुर्कोट हैवारवेशीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २० को नोट ६९ थान, अमेरिकी डलर १ को २३७ थान, मोबाइल ५ थान बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनीहरूले गोलाञ्जोर गाउँपालिका-७ लौकुनस्थित ४४ वर्षीय राजु गौतमसँग अठार लाख नेपाली रकम लिएर फरार भएको प्रहरीको आरोप छ ।