सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने प्रधानमन्त्रीको विश्वास

२८ जेष्ठ २०८१

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गरेका छन् ।
भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा गएका थिए ।

भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको सङ्ज्ञा दिए ।

उनले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले मन्त्रिपरिषदमा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको स्वीकार गरे ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने उल्लेख गरे । भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गरे । उनले अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताए ।

उनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गरे  ।