सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन !

२६ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेता डा. मुकुल ढकालमाथि कारबाही गरेपछि रास्वपा यतिबेला आलोचनाको शिकार बनेको छ । अनुशासन आयोगको सिफारिसअनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि रास्वपामाथि आलोचना भएको हो ।

पार्टीले जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निस्काशित भएको प्रतिक्रिया दिएका छन् । ढकालले देशका ३८ जिल्लाको समीक्षा यात्रापछि सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए ।

पार्टीको जनमत खस्केको र आगामी चुनावमा राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने निष्कर्ष प्रतिवेदनले रास्वपमा तरंग ल्याइदिएको हो । पार्टी शुद्धीकरणका लागि आवाज उठाउँदा ढकाल कारबाहीमा परेपछि रास्वपाको आलोचना भइरहेको छ । राजनीतिक दलका नेता तथा राजनीतिक विश्लेषकहरुले रास्वपाको निर्णयबाट वैकल्पिक दलमा पनि अराजनीतिक सोच हाबी भएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले पनि कारबाही भोग्न नपर्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन ! प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म कांग्रेस जीवन्त छ/रहिरहनेछ । रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ।’

राजनीतिक विश्लेषक डा.सूर्यराज आचार्य अराजनीतिक जगमा उभिएको ‘राजनीति’ ले क्षणिक रमझम दिएपनि अपेक्षित परिणाम नदिने बताउँछन् ।

उनी भन्छन्, ‘ठूला/पुराना दलहरूमा उल्लेख्य सुधारको सम्भावना कम छ । वैकल्पिक भनिने नयाँ दलहरूमा पनि अराजनीतिक सोच/शैली हाबी छ । अराजनीतिक जगमा उभिएको ‘राजनीति’ ले क्षणिक रमझम देला, अपेक्षित परिणाम दिंदैन । समाजमा विवेक भन्दा असन्तोष, आक्रोश र लहडको मनोविज्ञान प्रवल छ । आशावादी हुने मन छ, तर मुलुकको वास्तविकता यस्तै–यस्तै छ !’

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा नेतृत्वको आलोचना गर्दा पार्टीबाटै कारबाही गर्ने, फरक मत राख्दा पूर्वाग्रही हुनु दुःख भएको बताउँछन् ।

उनको टिप्पणी छ, ‘नेतृत्वको आलोचना गर्दा पार्टीबाटै कारबाही गर्ने, फरक मत राख्दा पूर्वाग्रही हुने, राजनीतिक भूमिकाबाट बञ्चित गर्ने, पार्टी महाधिवेशनमा प्रतिनिधिलाई चुनाव लड्न नदिएर टाउके सहमति गरी खल्तीबाट निकालेको लिष्ट पढ्ने, निर्वाचन गर्न पर्छ भनेर महाधिवेशन स्थगन गरेर भाग्ने–यस्ता सबै पार्टी नामका दोकान बन्द हुनु पर्छ । यी लोकतन्त्रका नाममा लोकतन्त्रकै शत्रु, नयाँ प्रकारका निरंकुश, अधिनायकवादी र पाखण्डी हुन् । कामै छैन यस्ताको । आजको कार्यभार लोकतन्त्रको लोकतान्त्रिकरण हो, राज्य,समाज, संस्था र पार्टी सबैतिर अझ बढी लोकतन्त्र हो, लोकतन्त्रको संकुचन हैन ।’