हामीले चिनेको रवि लामिछाने अब रहनुभएनः मुकुल ढकाल

२६ असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि छानबिन गर्न पार्टीभित्रै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन् ।

पार्टीले महामन्त्री र प्रवक्ता पदबाट हटाएपछि बुधबार पत्रकार सम्मेलन गरी ढकालले पार्टी सभापतिको दोहोरो राहदानी र सहकारी ठगी प्रकरणको छानबिन गर्न पार्टीभित्रै उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका हुन् ।

राहदानीको मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै ढकालले यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।

उनले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको भन्दै लगाउँदै रवि लामिछानेले सहकारी मात्र नभई पार्टी पनि ठगेका ठगेको आरोप लगाए ।

उनले सभापति लामिछानेका गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताए । उनले सभापति लामिछानेले सरकारमा नेतृत्व गर्दा पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो । हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन ।’

उनले गृहमन्त्रीले पार्टीलाई क्लबमा परिणत गराएको आरोप लगाए । उनले भने, ‘रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ । त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन । रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ ।’

उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको दाबी गरे । उनले भने, ‘म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो ।’

ढकालले लामिछानेलाई केपी ओली, प्रचण्ड र शेरबहादुर देउवको शैली मन पर्न थालेको आरोप लगाए । उनले भने,’अहिले संविधानको धारा ३ अनुसार सरकार बन्छ कि भनेर रवि लामिछाने त्यो सरकारमा जान पाइन्छ कि भनेर टुसुक्क परेर बसिरहनु भएको छ । प्रचण्ड ओली र देउवाको शैली मन पर्नेलाई मुकुल ढकालको शैली कहाँ मन पर्छ ?’