बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ : गृहमन्त्री  लेखक

२२ भाद्र २०८१

स्वच्छ खबर,काठमाडौं भदौ २२ ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित
इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा  गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो ।

गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुभयाे ।
यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने उहाँको भनाइ थियाे । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताउनुभयाे । यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको उहाँको भनाइ थियाे । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो ।

यस्तै परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उहाँले बताउनुभयो ।