रास्वपामा असन्तुष्टि बढ्दो, सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिइन् राजीनामा

४ बैशाख २०८२

काठमाडौं, ४ बैशाख, स्वच्छ खबर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट राजीनामा बुझाएकी हुन् ।

सदनमा रास्वपाको भूमिका सशक्त नभएपछि पार्टीको जिम्मेवारीमा भन्दा अहिलेको आवश्यकता विधायकी भूमिकामा भन्दै उनले पदबाट राजीनामा दिएको बुझिएको छ । उक्त राजीनामा पत्र आज बस्ने केन्द्रीय समिति बैठकमा पेश हुनेछ ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।
यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ ।

रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो । तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ ।