बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीको बैठक जारी

४ बैशाख २०८२

काठमाडौं, ४ बैशाख, स्वच्छ खबर । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ ।

बैठकमा एक सहभागी नेताका अनुसार दुई घण्टादेखि बैठक चलिरहेको जानकारी दिए । बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टि लगायतका विषयमा छलफल भइरहेको हो ।

पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन् ।

देउवाले मन्त्रीहरुलाई सँगै राखेर असन्तुष्ट नेताहरुसँग छलफल गरेर साझा धारणा बनाउने कोसिस गरेका हुन् ।