राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाखमा गर्ने भनेको महाधिवेशन अब आगामी फागुनमा

५ बैशाख २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाखमा गर्ने भनेको महाधिवेशन आगामी फागुनमा गर्ने गरि सार्ने निर्णय गरेको छ । यही बैशाखमा गर्ने भनेर तोकिएको पहिलो महाधिवेशन तयारी नपुगेको भन्दै सरेको पार्टीका नेताहरूले बताएका छन्। आगामी फागुनको ७, ८ र ९ गरे चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको तल्लो संरचना बनाउने काम नसकिएकोले महाधिवेशन सार्नु परेको उनले बताए। पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।

७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भएको र बाँकीमा पनि छिट्टै सम्पन्न गर्ने बताएको छ। पार्टीको ७० वटा जिल्लामा जिल्ला स्तरिय भेला सम्पन्न भएर कमिटि बनेको पनि बताएको छ। यस्तै पार्टीको सातवटै प्रदेशमा प्रदेश स्तरिय समिति बनेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पार्टीले प्रदेश स्तरिय जिम्मेवारी पनि तोकेको छ । बिहीबार बसेको बैठकले ७ वटा बैठकमा प्रदेशको इन्चार्ज तोक्दै महाधिवेशन केन्द्रित कामहरू सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिन आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सदूरपश्चिम प्रदेशमा हरि ढकाललाई जिम्मेवारी तोकेको छ। प्रदेश संरचनाको बिरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक केन्द्रीय नेतालाई प्रदेश इन्चार्ज तोक्दै जिम्मेवारी दिएको छ।

पार्टीले शिक्षकहरूको आन्दोलन लाई ऐक्यबद्धता जनाउने निर्णय गरेको छ। बैठकले शिक्षकहरूले राखेको माग पुरा गराउन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको मनिष झाले बताए । शिक्षकहरुको माग बारे जोडदार आवाज उठाउने गरि अधिवेशनमा सशक्त ढंगले भूमिका बढाउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको गरेको छ।

पार्टीका उपस‌भापति डा। स्वनिम वाग्लेले तयार गरिरहेको सरकार संचालन‌को प्ररास्वपाको अवधारणा आगामी असार ७० गते आयोजना हुने नीति सम्मेलनमा सार्वजनिक गर्ने भएको छ। पार्टीको उपमहासचिव सुमना श्रेष्ठको राजीनामा केन्द्रीय समितिमा आएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीको नाममा सामाजिक सञ्जालहरूमा देखिएको गतिविधिबारे ध्यानाकर्षण भएको र यसले पार्टीलाई नै घाटा गर्ने निष्कर्ष निकालिएको जानकारी झाले बताए। प्रयोग पार्टी सदस्यहरूलाई सामाजिक सञ्जाल सम्वन्धी आचार संहिता पालना गर्न आग्रह गरेको छ । आवश्यक रूपमा नबोल्न र नलेख्न पनि अनुरोध गरेको छ।