सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

२७ बैशाख २०८२

काठमाडौं । ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भने । एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।

सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक लीलाधर अवस्थीले भने, ‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।’ मौसम अनुकूल रहेकाले पहिलो वीन्डमो सर्वाधिक आरोहणको अनुमान गरिएको उनले बताए ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताए । आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्द निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उनले उल्लेख गरे ।

एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहेका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताए । उनले भने, ‘मौसम अनुकूल छ । आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।’

सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् । मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ छ र यस अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पकट आरोहणमा जाम हुनसक्ने जनाइएको छ ।

सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ्गको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भने, ‘यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ । पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ ।’ अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । यो टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ ।

सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ । जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन् । खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए । ‘बाटो राम्रो छ, मौसम सफा छ । सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्’, आरोही शेर्पाले भने, ‘मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेवदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ ।’

सगरमाथा चढ्न ४२१ लाई अनुमति

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक/दुई टीम थपिने विभागको अनुमान छ । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड सङ्कलन भएको छ ।